काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको सुरक्षालाई सरकारले प्राथमिकताका साथ लिएको बताएका छन् । उनले विपिनको शीघ्र रिहाइका लागि सरकार हरसम्भव पहलमा जुटिरहेको समेत जनाएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत् जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि सरकारले हालसम्म गरिरहेका पहलबारे बताएका छन् । उनका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा हालै विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति इसाक हर्जोग र संसद् अध्यक्ष आमिर ओहानासँग भेट गरी रिहाइका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि मध्यपूर्वमा शान्ति प्रयासका क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते टेलिफोन संवाद गरी विपिनको अवस्थाबारे ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।
‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ । सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनका अनुसार विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ । यस क्रममा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले विपिनका परिवारलाई सरकार सधैं साथमा रहेको आश्वासन समेत दिएका छन् ।


