काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणका तीन अभियुक्तको बयान र थुनछेक बहस आज छैटौँ दिन पनि जारी रहेको छ । पूर्वमन्त्री एवं कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङ जोडिएको सहकारी ठगीको यो मुद्दामा आज एक जना प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
ललितपुर जिल्ला अदालतमा न्यायाधीश निर्मला योङयाको इजलासमा यस मुद्दाको सुनुवाइ चलिरहेको छ। भदौ १ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २ गतेदेखि बयान सुरु भएको हो । एक जना प्रतिवादीले बयानमा दुई दिनसम्म समय लिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । दुई जनाको बयान सकिएकाले आज १ जनाको मात्रै बयान बाँकी छ ।
आज बयान सकिएमा भोलि एकै दिन थुनछेक बहस सक्नका लागि ‘टाइम कार्ड’को लागि इजलासमा आफूहरूले माग राख्ने जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता भरतकुमार मैनालीले जानकारी दिए । ‘मंगलबार श्रीमानको बिदा छ त्यसैले सोमबार समय व्यवस्थापन गरेर थुनछेक बहस सक्नका लागि हामीले टाइम कार्ड माग गर्नेछौ,’ मैनालीले भने ।
पक्राउ परेका अभियुक्तहरू बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि बाहिरै बसेर मुद्दा लड्न दिने भन्ने विषयमा सोमबारदेखि थुनछेक बहस हुनेछ । सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको छ । धनराजपत्नी ज्योति गुरुङसहित ५ जना फरार छन् ।
फरार रहनेमा स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बागलुङका ३५ वर्षीय प्रदीप भन्ने प्रीतम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम रहेको अभियोगपत्रमा उल्लेख छ । ठगी, लिखत कसुर, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र सङ्गठित अपराधमा उनीहरूविरूद्ध मुद्दा चलाइएको छ ।


