विराटनगर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन संवैधानिक रूपमा कुनै बाधा नपर्ने बताएका छन्। पूर्वराष्ट्रपतिले चाहेमा कुनै दलको सदस्यता लिन मात्र नभई स्थानीय तहको प्रमुख (मेयर) पदमा समेत उठ्न मिल्ने उनले तर्क गरे।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमनको चर्चा चलिरहेका बेला यस्तो धारणा राखेका हुन्। उनले भने- ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा मात्रै हैन, पालिकाको मेयरमा पनि उठ्न मिल्छ। राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने हो।
त्यसैले उहाँहरूको कार्यकाल सकिएपछि पार्टीमा फिर्ता हुन कुनै समस्या हुँदैन।’ यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि रहेको दाबी गर्दै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको उनले उदाहरण दिए।


