काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र केही अनुशासनहीनता, बेलगाम प्रवृत्ति र अराजक क्रियाकलापहरू देखिएको स्वीकार गरेका छन् । पार्टीको शुक्रबारदेखि ललितपुरमा सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्ता कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । तर, उनले यी समस्या पार्टी कार्यकर्ताहरूको ठुलो योगदान र समर्पणसँग तुलना गर्दा साना मात्र भएको स्पष्ट पारे ।
ओलीले पार्टीलाई विभाजनबाट बचाउन, सुदृढ गर्न र भविष्यमा अग्रसर बनाउन कार्यकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विशेष गरी महिला कार्यकर्ताहरूको योगदानलाई उल्लेखनीय बताए । उनका अनुसार, महिला दिदी बहिनीहरूको निष्ठा, अटल अडान र समर्पणकै कारण पार्टी अझ सबल बनेको छ । प्रधानमन्त्री ओलीले आन्तरिक एकतासँगै वैचारिक स्पष्टता र अनुशासन पार्टीको मूल आधार भएको उल्लेख गर्दै सबै कार्यकर्तालाई नेतृत्वप्रति विश्वास राख्दै अघि बढ्न आह्वान गरे ।
यस अवसरमा उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति पार्टीको अटल अडान पुनः व्यक्त गरे । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग रहेको स्मरण गराउँदै उनले कुनै पनि दबाब, धम्की वा प्रलोभनमा नपरी राष्ट्रिय हित सर्वोपरि हुने बताए । ओलीले विकास र समृद्धिको यात्रामा शान्ति, स्थिरता र लोकतन्त्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सबै नागरिकलाई राष्ट्र निर्माणको साझा अभियानमा सहभागी हुन आह्वान गरे ।


