काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन्।
लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो। अरूले कुहेको पिठो बेचिरहेका छन्। त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं।’
उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साटे। उनले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भने, ‘मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लम्जुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो। तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ।”
अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गरे। दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको बताए।
तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम सम्पन्न भएको उनले उल्लेख गरे।
उनले जोड दिए, ‘हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन्। तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ। यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु।’
यसअघि लम्जुङको रामबजारमा अध्यक्ष दाहाललाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो। अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढिरहेका उनले हरेक सम्बोधनमा जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको र अब देशको वास्तविक शक्ति माओवादी केन्द्र बन्ने विश्वास व्यक्त गरे।


