काठमाडौं । जेन जी आन्दोलनका क्रममा यो समाचार अपडेट गर्दासम्म १४ जनाले ज्यान गुमाएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १–१ को ज्यान गएको छ ।
प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरूको विवरण आउन सकेको छैन ।
घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो । सोमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेको थियो ।


