काठमाडौं, २८ भदौ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानबिन गर्दै दोषिमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
भट्टराईले नेपाल एक पटक फेरि संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद विघटन संक्रमण निधानको सही बाटो नभएको उल्लेख गरेका छन् । उनले संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने माग गरेका छन् ।
‘जेनजीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै पूरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भनेका छन्, ‘तर त्यता जान खोजिएन । संसदलाई विघटन गरिएको छ । यो सही निकास होइन ।’ संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उनको भनाइ छ । यदी त्यो अवस्था आयो भने नयाँ संविधान बनाउन सहज नहुने भट्टराईको तर्क छ ।
‘संविधानलाई लिकमा फर्काउन, लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भने, ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूवर्क अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौँ तपाईंहरुका हरेक कदम संवैधानिक होउन् । हामी समर्थन गर्छौँ ।’
१२ मिनेट २० सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भ्रष्टाचार, कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताए । एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धि हासिल गरेको स्मरण गराउँदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपथ्र्यो त्यती गर्न नसकिएको बताए ।
‘जनताका आवाज, युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्ने कुरामा हामी कतै चुक्यौँ । ति कमिकमजोरीप्रति हामी आत्मालोचना गर्दछौँ’ भट्टराईले भने, ‘यस कमजोरीका लागि जनतासँग माफी माग्दछौं । किनकि एउटा राजनीतिक दल जनताबिना बाँच्न सक्दैन । जनता हाम्रा आधार स्तम्भ हो ।’
भट्टराईले एमालेलाई गतिशिल बनाउन युवाहरुको आवश्यकता औंल्याएका छन् । उनले एमाले युवाहरुले नै बनाएको पार्टी हुनाले युवाहरुले ने नेतृत्त गर्दै आएको पार्टी भएको स्मरण गराएका छन् ।
‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ । बीचको पुस्ता छ । युवा पुस्ता छ’ भट्टराईले भने, ‘हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन । उनीहरुको र हाम्रो पार्टीका कडि किन टुटिरहेको छ । यसको गम्भीर समीक्षा गर्नेछौँ । हाम्रो पार्टीको नीति, नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौँ ।’ एमाले नयाँ र युवामैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने उनको भनाइ छ ।
युवाहरुलाई एमालेप्रति विश्वास गर्न सबैलाई उनले आग्रह गरेका छन् । संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृति राम्रो नभएको उनले बताएका छन् । यसरी पार्टी छोडेर हिँडेकाहरुलाई एमाले जस्तो विशाल पार्टीमा फर्कन उनले अपिल गरेका छन् । समाज र हरेक व्यक्तिको रुपान्तरण आजको आवश्यकता भएको भिडियो सन्देशमा उनले उल्लेख गरेका छन् ।


