धनगढी । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ निवासी ३८ वर्षीय नरजित बहादुर खड्काको बिहीबार मृत्यु भएको हो ।
उनी गत असोज १७ गते साँझ जयपृथ्वी नगरपालिका–२ बाट आफ्नो घरतर्फ फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल जिल्ला अस्पताल सिमखेतमा प्राथमिक उपचारका लागि लगिएको थियो । तर, अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाई धनगढी हुँदै भारत पठाइएको थियो ।
उनी तलकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत थिए।खड्का राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, जिल्ला कमिटी बझाङका अध्यक्ष थिए।


