२५ कार्तिक २०८१, आइतबार 1731280318
पालिका

कञ्चनपुरको भीमदत्त र पुर्नवासमा कांग्रेस निर्वाचित

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

नवनिर्वाचित बोगटी  कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुनुहुन्छ । उहाँ अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित हुुनुभएको थियो ।त्यसैगरी उपप्रमुखमा  कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र ) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गर्नुभएको छ ।  १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।

पुर्नवासमा कांग्रेस विजयी

त्यसैगरी कञ्चनपुरको पुर्नवास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।  नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६००  र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित  हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् । 

 उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुर्नवासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित हुनुभएको थियो ।