१ जेष्ठ २०८३, शुक्रबार 1778901198
Banner

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स युएई०विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ।

सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दा यस खेललाई नेपाल क्रिकेट संघ–क्यानले एल क्लासिकोको संज्ञा दिएको छ। दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई हराइसकेका छन्। त्यसैले यो खेल २ अंकको लडाइँ मात्र नभई आत्मविश्वासको युद्ध हुनेछ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। युएईविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ।

युएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो। समूह ‘ए’मा युएईले कतारलाई सात विकेटले हराएको थियो। युएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।

नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतिस्पर्धा गर्ने टिममा युएईसँगै कतार, ओमान र समाओ छन्।