३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:03 am
Banner

आजदेखि नेपाल सम्वत् ११४६ शुरू

सूचना प्रेस २०८२ कार्तिक ५ बुधबार ००:००, ०६:२३ बजे २ मिनेट पढाइ

नेपाल सम्वत् ११४६ आज बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वत्‌लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्‌को शुरूआत गराएका थिए । नेपाल सम्वत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्‌को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरको भनाइ छ । 

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरू भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्‌का रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो’, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । 

कार्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरूआत गर्ने परम्परा समेत काठमाडौंमा अझै छ ।