सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बनेका छन् । उनले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय गाउँघरदेखि सहरबजारसम्म माटोका भाँडाकुँडाको प्रयोग घट्दै गए पनि यो पुर्ख्यौली पेसा भएकाले पण्डितले यसलाई मुख्य आम्दानीको स्रोत बनाई निरन्तरता दिइरहेको बताए । उनले भने, ‘हामी सबै परिवार यही माटोको भाँडाकुँडा बनाउँछौँ । हाम्रा जिजुबाजेले पनि यही काम गर्दै आएका थिए । हामीले यसैलाई निरन्तरता दिएका हौँ । हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत यही हो र यसबाटै घर खर्च चलाउँदै आएका छौँ ।’ पण्डितको इनरुवामा माटोको भाँडा बनाउने आरन छ । त्यहाँ बनाइएका भाँडाकुँडा इटहरीमा ल्याएर बिक्री गर्ने गर्छन् । व्यापारी आरनमै पुगेर पनि माटोका भाँडाकुँडा खरिद गर्ने गरेको उनले बताए । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन । नजिकै राम्रो माटो पाउन गाह्रो छ । पहिले विराटनगर, बर्जुताल क्षेत्रबाट माटो ल्याइन्थ्यो भने अहिले सुनसरी र मोरङका विभिन्न ठाउँमा गएर माटो खरिद गरेर ल्याउने गरेको पण्डितले बताए ।
एक ट्रयाक्टर माटोको मूल्य १२ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्छ । एक ट्रयाक्टर माटोले करिब एक लाख ५० हजार मूल्यबराबरका भाँडाकुँडा बनाउन सकिन्छ । सबै खर्च कटाएर पनि मासिक एक लाख बढी आम्दानी हुने गरेको उनले बताए ।
हाल बजारमा प्लास्टिकका सामानको प्रयोग बढे पनि माटोका भाँडाकुँडाको माग अझै पनि उच्च छ । व्यापारीले कारखानामै आएर सामान खरिद गर्ने र पसलमार्फत पनि उति नै बिक्री हुने गरेको पण्डितले बताए । झापा, मोरङ, पाँचथर, इलाम, खाँदबारी, फिदिम, धनकुटा र भोजपुरसम्मका ग्राहकले सामान माग गर्ने गरेका पण्डितको भनाइ छ ।
पण्डितले हाल एक सयभन्दा बढी प्रकारका माटोका सामान बनाउने गर्छन् । यसमा रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुत्रुके, गिलासलगायत सामग्री छन् ।
पण्डितका अनुसार हाल पसलमा दुई हजारदेखि आठ हजारसम्मका सामान बिक्री हुने गरेको छ । तन्दुरी रोटी बनाउने भाँडा पाँच हजारदेखि आठ हजार, रक्सी पार्ने पैनी ६ सयदेखि दुई हजार, गमला ३० रुपैयाँदेखि आठ सय, दियो दुईदेखि ३० रुपैयाँ र विभिन्न साना सामान दर्जनका हिसाबले बिक्री हुने गरेको उनको भनाइ छ ।
पण्डितले भने, ‘अहिले छठमा बिक्री बढेको छ । अरु बेला एक लाख बढी आम्दानी हुन्छ भने चाडपर्व सुरु भएसँगै मासिक एक लाख ७० हजारदेखि एक लाख ८० हजारसम्म कमाइ हुन्छ ।’
रामधुनी नगरपालिका– १ झुम्काका व्यापारी नवराज शाहले माटोका भाँडा बनाउने परम्परा घट्दै गएको र यसको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए । उनले भने, ‘माटोका भाँडा जन्मदेखि मृत्युसम्म आवश्यक पर्छ । मैले चार वर्षदेखि यो व्यापार थालेको छु । अहिले छठ पूजा सुरु भएकाले दियो र कलशको माग अत्यधिक छ । मैले इनरुवा, विराटनगर र भारतबाट सामान खरिद गरी बिक्री गर्दा मासिक ४० हजारदेखि ५० हजारसम्म आम्दानी हुन्छ ।’
अहिले पण्डित र शाहजस्ता धेरै कुम्हारहरूले पुर्ख्यौली र परम्परागत पेसालाई संरक्षण गर्दै आधुनिक बजारसँग जोडेर आम्दानी र पेसाको निरन्तरता सुनिश्चित गरिरहेका छन् । (रासस)
७० वर्षको उमेरमा पनि राजाराम कुमालका हात माटोमा जादु चलाउन छाड्दैनन् । कैलालीको कैलारी गाउँपालिका–५, बन्दरगौरीका राजारामको माटोसँग ५२ वर्षको सम्बन्ध छ । राजारामले यो सीप आफ्ना बुबा र बाजेबाट सिकेका हुन् । १५ वर्षको कलिलो उमेरदेखि नै उनले माटोलाई आकार दिन थालेका थिए ।
‘त्यो बेला स्कुल गइएन, दिनभरि बुवासँगै बसेर भाँडा बनाउन सिकियो,’ उनी सम्झिन्छन्, ‘त्यही सीपले आजसम्म जीवन धानेको छ ।
पुर्खाहरूले सुरु गरेको यो कामलाई निरन्तरता दिन पाउँदा उनी गर्व महसुस गर्छन् । ‘हाम्रो बुवाले गरे, बाजेले गरे, पुर्खाहरूले गरेको कामलाई मैले पनि गर्दै आएको छु,’ उनी भन्छन् ।
समय बदलियो । राजारामको दैनिकी भने बदलिएको छैन । हिजो जस्तै आज पनि उनी उही जोस र जाँगरका साथ माटोका भाँडा बनाउन लागिरेहका हुन्छन् । बजार भने पहिलेको जस्तो छैन । प्लास्टिक, फलाम, सिल्भर, पित्तल, तामा, सिमेन्ट लगायत रंगीचंगी आकर्षक सामानको आगमनले माटोका भाँडाहरूको माग ह्वात्तै घटाएको छ ।
राजाराम आफ्नो पेसालाई कहिल्यै नछोड्ने अठोटमा छन् । ‘सबै साथीले यो काम छाडिसके पुर्खाको सीपलाई छाड्न मेरो मनले पटक्कै मान्दैन,’ उनी भन्छन् ।
माटोको भाँडा बनाउने प्रक्रिया निकै लामो छ । धेरै मेहनत गर्नुपर्छ । राजाराम हरेक वर्षको फागुन महिनामा भाँडा बनाउन चाहिने माटो लिन नजिकैको सामुदायिक वन जान्छन् । यसका लागि उनले वनसँग अनुमति लिनुपर्छ र ३०० रुपैयाँ शुल्क पनि तिर्नुपर्छ ।
श्रीमती, छोरा र बुहारीको सहयोगमा उनी भाँडाका लागि उपयुक्त रातो माटो खोज्छन् । सही ठाउँ भेटिएपछि १५ देखि २० दिन लगाएर माटो खनिन्छ र गोरुगाडामा हालेर घर ल्याइन्छ । घर ल्याएपछि सुरु हुन्छ, माटोलाई भाँडा बनाउन योग्य बनाउने असली मेहनत ।
‘घर ल्याएको माटोलाई कोदालोले सानो–सानो टुक्रा बनाउँछौं, अनि पानी हालेर दुई–तीन दिनसम्म लगातार खुट्टाले फिट्छौं,’ उनी सुनाउँछन् ।
यसरी फिट्दै जाँदा माटो गिलो र लचिलो हुन्छ । त्यसपछि त्यसलाई केही समय सुकाएर पिठो मुछेजस्तै गरी हातले मुछिन्छ । जब माटो पूर्ण रूपमा तयार हुन्छ, तब त्यसलाई साँचो ९चक्र० मा राखेर विभिन्न आकारका भाँडाहरू बनाइन्छ ।
राजाराम दैनिक ५० देखि ६० वटासम्म भाँडा बनाउँछन् । उनले बनाएका रासी, करुवा, गाग्री, दियो, गमला जस्ता भाँडाहरू घरको आँगन र छुट्टै बनाएको काठको टहरोमा सुकाएर राखिएका छन् । बनेका भाँडालाई काठको मुङ्ग्रोले पिटेर बलियो बनाइन्छ र अन्त्यमा पराल र दाउराको आगोमा पकाइन्छ । यो सबै प्रक्रिया निकै खर्चिलो र समय लाग्ने खालको छ ।
राजाराम आफ्नो उत्पादन धनगढी, हसुलियाजस्ता बजारमा गोरुगाडामा लगेर बेच्छन् । कोही–कोही घरमै पनि किन्न आउँछन् । भाँडाको आकार हेरी ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ । गाउँघरमा उनी धान, घिउ र दालसँग पनि भाँडा साट्ने गर्छन् ।
‘धेरै मेहनत गर्नुपर्छ, प्रशस्त आम्दानी नभए पनि घरखर्च चलाउन सजिलो भएको छ,’ उनी भन्छन् ।
राजारामको जस्तो सन्तुष्टि सबै कुमाल परिवारमा छैन । अहिले पुर्ख्यौली पेसा संकट परेपछि परिवार पाल्न भारतको भर पर्नुपरेको कैलारीका स्थानीयको गुनासो छ ।
बन्दरगौरी गाउँमा कुनै बेला २६ घरधुरीले माटोका भाँडा बनाउने काम गर्थे । स्थानीय मनिराम कुमालका अनुसार आज यो संख्या घटेर थोरैमा सीमित भएको छ । धेरैजसो यो पेसा छाडेर रोजगारीका लागि भारत पलायन भएका छन् ।
‘एउटा त भाँडा बनाउँदा फुट्ने डर, अर्को बिक्री नै नहुने समस्या,’ उनी भन्छन्, ‘बजारमा प्लास्टिकका भाँडाकुँडा आएपछि हाम्रो उत्पादन बिक्न छाड्यो । माटोको गाग्रीको सट्टा प्लास्टिकको बाल्टिन र माटोको गमलाको ठाउँमा सिमेन्टको गमला प्रयोग हुन थालेपछि हाम्रो सीप संकटमा पर्यो ।’ मनिराम आफैंले पनि यो काम छाडेर पसल थापेका छन् ।
स्थानीय कंङली कुमालका अनुसार पहिले माटोका भाँडाको निकै महत्व थियो । बिक्री पनि राम्रो हुन्थ्यो । घैँटोको पानी स्वास्थ्यका लागि राम्रो मानिने हुँदा हरेक घरमा माटोको गाग्री अनिवार्य हुन्थ्यो । त्यतिबेला माटो, दाउरा र परालजस्ता आवश्यक सामग्री निःशुल्क पाइन्थ्यो । अहिले भने सबै कुरा किन्नुपर्दा लागत बढेको छ ।
‘मेहनत धेरै, बिक्री कम भएपछि धेरै परिवारले यो पेसा छाडेर भारत जानुपरेको हो,’ उनी भन्छिन् ।
यो पुर्ख्यौली पेसालाई जोगाउन र व्यवसायीकरण गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।
‘हामीले आफ्नो पेसालाई बजारसँग जोड्न र प्रचारप्रसार गर्न वडा अध्यक्षसँग कुरा गरेका थियौं, उहाँले मुख्यमन्त्रीसँग कुरा गर्नु भन्नुभयो,’ कंङलीले भनिन्।
अहिले कुमाल समुदायको आफ्नो सीप र कलाले भविष्यमा कुन मोड लेला भन्न सकिने अवस्था छैन । पुर्ख्यौली सीप संकटमा परेपछि परिवार पाल्न भारत पसेहरु बढेपछि अहिले गाउँ सुनसान छ । बाहिरबाट आयातीत सामानले आफूहरुको रोजीरोटी समेत संकटमा परेको उनीहरुको गुनासो छ ।


