७ मंसिर २०८१, शुक्रबार 1732314286
पालिका

फतुवा विजयपुरमा मतगणना स्थगित

बारा- रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकाे भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर विरोध प्रदर्शन गरेका छन् ।

फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्याङ्कभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।

निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ ।

नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन्। नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाँउमा पुन : मतदान गर्नुपर्ने माग राखेका छन् ।

पुन: मतदानको माग गर्दै एमाले र माओवादीका मतगणना स्थलमा रहेका प्रतिनिधिहरू निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताए ।