काठमाडौं । महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा थप पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, जेन–जी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरी हत्या गर्ने घटनामा संलग्न विभिन्न व्यक्तिहरूलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ तथा रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्।
महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिबाट भएको कुटपिटका कारण भएको थियो। उनीहरूलाई कार्यालयबाट तानेर नजिकैको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर कुटपिट गरिएको र अचेत भएपछि मुख्य सडकमा घिसारिएको प्रहरीले जनाएको छ। त्यहाँ पनि कुटपिट हुँदा दुबैको घटनास्थलमै मृत्यु भएको थियो।
यसअघि गत सोमबार गोरखा घर भई धुम्बाराही बस्ने २१ वर्षीय सोमबहादुर गुरुङ पक्राउ परेका थिए। सोही घटनासँग सम्बन्धित युवराज क्याप्छाकी, सोनाम तामाङ -उर्फ बुद्धिलाल थिङ, होमप्रसाद पौडेल र टिकाराम विकलाई भने पहिल्यै पुर्पक्षका लागि कारागार चलान गरिएको छ।


