दोलखा । हिमपहिरोमा मृत्यु भएका दुई नेपालीको शव फेला परेको छ। मृत्यु हुनेमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङ रहेका छन्।

रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ री हिमालको बेसक्याम्पको हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव संकलनको काम भइरहेको छ। हिमपहिरोमा परी २ नेपाली र ५ विदेशीसहित ७ जनाको मृत्यु भएको र ८ जनाको उद्धार भएको उद्धारमा खटिएकाहरुले बताएका छन्। जिल्ला प्रशासन कार्यालय दोलखाले भने दुई जना नेपाली पथप्रदर्शकको शव फेला परेको र ५ विदेशी बेपत्ता भएको विवरण सार्वजानिक गरेको छ।
दुई जना इटालियन आरोहीसहित फ्रान्स, क्यानडा र जर्मनीका एकरएक जना हिमपहिरोमा परेको जनाइएको छ। हिमपहिरोमा परेका सबैको पहिचान खुलेको छ। ५ जना नेपाली र ३ जना विदेशीलाई हेलिकोप्टरमार्फत उपचारकालागि ह्याम्स अस्पताल धुम्बराही र इरा अन्तर्राष्ट्रिय अस्पताल सोह्रखुट्टेमा उपचार गराइरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।


