७ जेष्ठ २०८३, बिहिबार 1779396670
Banner

प्रत्यक्ष कार्यकारी प्रणालीले देशका सबै समस्या समाधान गर्छ भन्नु मूर्खता : राधेश्याम अधिकारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरू समाधान गर्न सक्छ भन्नु मूर्खता मात्रै भएको बताएका छन्। मंगलबार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित ‘प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले हालका नेताहरूले पार्टीको अध्यक्ष पद त छोड्न नसक्ने अवस्थामा प्रत्यक्ष कार्यकारी प्रमुख पाएपछि अवस्था झन् कस्तो होला भन्दै प्रश्न गरे। उनले दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्न सक्छ भन्नु मूर्खता मात्रै भएको बताए।

अधिकारीले भने, ‘जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन्, तिनले सत्ता पाए भने छोड्छन्? दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्न सक्छ?’

उनले थपे, ‘जाति, जनजाति, भाषाहरूको प्रतिनिधित्व यो संविधानले बोकिरहेको छ। समानुपातिक, समावेशी, सङ्घीयताको कुरा जुन छ, यो ठट्टाको विषय होइन। ख्यालख्यालमा आएको होइन।’ उनले लोकतन्त्र र गणतन्त्र सबैले चाहेको उल्लेख गर्दै विविधताले भरिपूर्ण नेपालमा सबै मिलेर बस्नुपर्नेमा जोड दिए।