२७ कार्तिक २०८१, मंगलबार 1731423787
Banner

विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरमा सपथ बहिष्कार

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि बनाएपछि विभिन्न वडाका वडाअध्यक्ष तथा सदस्यहरुले कार्यक्रम बहिष्कार गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लडेका उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साहले पदभार ग्रहण गरेको दुई दिन नबित्दै नेपाली कांग्रेसकै व्यानरमा विजय जुलुस निकालेपछि विरोध भएको हो ।

पाँचदलीय गठबन्धनमा जनता समाजवादी पार्टीका लालकिशोर साहलाई नगरप्रमुखको उम्मेदवार बनाएपछि मनोजले कांग्रेसको साधारण सदस्यता समेत परित्याग गरी स्वतन्त्रको हैसियतमा चुनाव लडेका थिए ।

चुनावमा गठबन्धनका उम्मेदवारलाई कांग्रेसकै निधिपक्षबाट आन्तरिक असहयोग गरी बागी उम्मेदवार मनोजलाई समर्थन गरेको चर्चा छ । निधिबाट समर्थन पाएका मनोजले चुनाव जित्ने वित्तिकै उपमहागरपालिकाको पहिलो सपथ ग्रहण कार्यक्रममै निधिलाई प्रमुख अतिथिको हैसियतमा बोलाएका हुन्।

तर, कुनै पदीय हैसियत नै नरहेका व्यक्तिलाई प्रमुख अतिथि बनाएको भन्दै नेकपा एमालेबाट निर्वाचित विभिन्न सातवटा वडाका वडा अध्यक्ष गरी ३६ जना निर्वाचित सदस्यहरुले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् ।