२६ भदौ २०८३, शुक्रबार 1789124929
Banner

आज बालाचतुर्दशीः पितृका नाममा पशुपति क्षेत्रमा शतबीज छर्नेहरुको भीड

काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन रातभर पितृका नाममा जाग्राम बसेका भक्तजनले आज बिहान पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरेका छन्।

त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका श्रद्धालुले चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिसाएर बनाइने सात धान्यको शतबीज छर्ने परम्परा पालना गरेका हुन्। पशुपति क्षेत्रका एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप र किराँतेश्वर लगायतका स्थानमा भक्तजनले शतबीज छरेका छन्। मृगस्थलीस्थित बहिरा गणेश नजिक पुग्ने बित्तिकै श्रद्धालुले गणेशको शिलालाई हल्लाउँदै दिवंगत आत्माले सन्देश पाओस् भन्ने कामना गर्ने धार्मिक चलन रहेको छ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्वका अवसरमा आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड बढेको छ। देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथ मन्दिर परिसरमा पुगेर पितृ तर्पणसहित धार्मिक अनुष्ठानमा सहभागी भएका छन्।