काठमाडौं, ३ मंसिर । एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १–० ले पराजित भएको छ । नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो ।
खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो । फैसल हलिमले नेपालका गोल किपर किरण चेम्जोङसँगको वान भर्सेज वानमा सहजै गोल गरे । नेपाल खेलमा फर्कन सकेन । ९० औं मिनेटमा भने नेपाल १० जनामा समेटियो । लाकेन लिम्बू दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए । रेफ्रीले मलेसियालाई पेनाल्टीको अवसर प्रदान गरे । प्राप्त पेनाल्टीमा पाउलप जोसुको प्रहार आकाशियो । मलेसियाले नेपाललाई १–० ले हरायो ।
दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो । पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले हारेको थियो । नेपालले लगातार आठौं खेलमा पनि जित निकाल्न सकेन । नेपालले गत मार्चमा सिंगापुरलाई १–० ले हराएपछि ५ खेलमा हार र तीन खेलमा बराबरी नतिजा निकालेको थियो ।


