काठमाडौं, ८ मंसिर । नेपालको रेमिटेन्स क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा नेपाल रेमिटरर्स एशोसिएसन (एनआरए)ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी)सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गरेको एनआरएले जनाएको छ ।
केही चरणका छलफलहरूपछि दुवै संघहरूले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न, र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमति जनाएको छ । यो साझेदारीले ज्ञान आदानप्रदान, सीमापार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।
सम्झौता हस्ताक्षर समारोहमा एमएएमएसबीका अध्यक्ष दाता जाजाखान बिन कादेर गनी र एनआरएका अध्यक्ष रितेश मित्तलले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण, र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने बताए ।
एनआरएका अध्यक्ष मित्तलले भने, “यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो । एमएएमएसबीसँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने, र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पुर्याउनेछ ।”
एमएएमएसबीका अध्यक्ष गनीले भने, “हामी नेपाल रेमिटर्स एशोसिएसनसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । यो साझेदारीले प्रविधि, दक्षता विकास, र अन्तर्राष्ट्रिय मापदण्डको पालना मार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने हाम्रो साझा प्रतिबद्धता झल्काउँछ ।”


