१ जेष्ठ २०८३, शुक्रबार 1778887431
Banner

मधेसका मुख्यमन्त्रीको नियुक्ति गलत छ : वरिष्ठ अधिवक्ता खाती

काठमाडौँ । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति गलत भएको बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बिहीबार सुनुवाइको क्रममा खातीले यस्तो बताएका हुन् ।

खातीले वैकल्पिक सरकार गठन हुने अवस्था हुँदाहुँदै संविधानको धारा १६८ को ३ मा जान नहुने जिकिर गरे ।दुई तिहाइ सांसद रिट लिएर सर्वोच्च आइसकेको अवस्थामा धारा १६८ को ३ मा जान नसकिने उनको दाबी छ ।

‘जब मधेसको मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिनु भयो त्यसपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि आह्वान गर्नु पर्दथ्यो त्यसो नगरी धारा १६८ को ३ को आधारमा ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्ति गलत छ, उनले भने,’ कात्तिक २२ गते राजीनामा दिएपछि कार्यवाहक मुख्यमन्त्री चलाउनु भनेर पत्र दिएको २४ घण्टा बित्न नपाउँदै सुटुक्क मुख्यमन्त्री नियुक्त गर्ने काम भयो ।’

मधेसका ७४ जना सांसद रिट लिएर सर्वोच्च आएको उल्लेख गर्दै उनले संविधानको धारा १६८ को २ अन्तर्गत मधेस प्रदेश सरकार गठनका लागि परमादेश जारी गर्न माग गरे ।