२२ बैशाख २०८३, मंगलबार 1777998552
Banner

कमला नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुर-धनुषाको कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

आयोगले जनाए अनुसार तत्कालीन नगरप्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिनविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको हो । उनीहरूले आपसी मिलेमतोमा लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसहित सौन्दर्य निर्माण गर्ने आयोजनामा २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।

७५ लाख रुपैयाँको आयोजनमा कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मा दिनुपर्नेमा आपसी मिलोमतोमा इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिलाई निर्माणको जिम्मा दिएर २९ लाख ४४ हजार १३७ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारले आरोप पत्रमा दाबी गरेको छ ।

गोइतसहितका व्यक्तिहरूले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाइएकोले जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।