काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्। बैठकका गरी २७ निर्णयमध्ये महत्त्वपूर्ण नियुक्ति, आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधारसम्बन्धी विषय समेटिएका छन्।
सरकारले वित्तीय अनुशासन कडाइ गर्ने नीतिअनुसार आगामी माघ १ गतेदेखि नगद कारोबारमा कडाइ गर्ने निर्णय गरेको छ। अब एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र कारोबार गर्नुपर्ने व्यवस्था लागू हुनेछ।
बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा दाङका डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।
त्यस्तै लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखाका इ. दीपक श्रेष्ठलाई मनोनयन गरिएको छ।
साथै, विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिवमा प्रा. ज्ञानबहादुर थापा र कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई नियुक्त गर्ने निर्णय भएको छ।
प्रशासन सेवातर्फ सहसचिव बैकुण्ठप्रसाद अर्याललाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
मन्त्रिपरिषद्ले बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको श्रीलङ्कालाई मानवीय सहायताका लागि २ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय पनि गरेको छ।


