काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले ११औँ महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओली नै हुने दावी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै ओली नै अध्यक्षका लागि फाइनल भइसकेको बताएका हुन् ।
उनले भने, ‘टिममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । यो चाहिँ ठहर नै हो । साथीहरूले लेखेरै राख्नु भए पनि हुन्छ । छाप्नु भए पनि हुन्छ, बजाए पनि हुन्छ ।
२९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ रु भन्दाखेरी केपी शर्मा ओली । यसमा हाजिरी जवाफमा फेलै खाइन्न । पूरै नम्बर आउँछ । त्यो भन्दामुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ,’ ।
रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताए ।
‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ ।
यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ’, उनले भने, ‘त्यस अर्थमा हामी मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नेछौँ । बाहिर चर्चामा आए जस्तो प्रतिस्पर्धा गर्न पाइँदैन या चुनाव हुँदैमा पार्टीमा समस्या आउँछ भन्ने कुरा यथार्थ होइन ।’’


