काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६, चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सातवटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चारवटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका सबै घाइतेहरूको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एन.एल. ०१ बी.ए. ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जी.जे. ०३ ए.के. ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको हो ।
घाइते हुनेहरूमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठजना, मोटरसाइकलमा सवार एकजना र डिब्बा गाडीमा सवार एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ग ००११ नम्बरको स्कुल बसका चालक उदय बहादुर थापा, बसमा सवार सुवित थिङ, कविता सिंह, यमवि श्रेष्ठ, रमित परियार, समिर मगर, ईस्माईल थिङ, कमला लामिछाने, सचिन गुरुङ, शिव लामिछाने, आस्विन प्रजा, राधिका चेपाङ, मिलन तामाङ, कशिस तामाङ, सन्तोष प्रजा, बिराज तामाङ, जयराम अर्याल, निशान गुरुङ, समिर परियार, जसमिन श्रेष्ठ, कमल गुरुङ, रबिना सुनार, प्रतिमा मगर, आयुब विके., बिमला तामाङ घाइते छन् ।
गोरखाबाट–काठमाडौंतर्फ जाँदै गरेको बसका विनोद पोखरेल, मीना पनेरु, इन्द्र कुमारी देवकोटा, सिता गजुरेल, अजय घिमिरे, सुर्य घिमिरे, कुशल घिमिरे घाइते भएका छन् ।
त्यस्तै, मोटरसाइकलमा सवार सेख खली एस, ग १ ख ८५५१ नम्बरको बस चालक राजु कार्की र डिब्बा गाडीका चालक घाइते भएका छन् ।


