काठमाडौँ । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मङ्सिर २२ गते भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण आयोजना गरेको हो ।

बौद्ध धर्ममा केन्द्रित हुँदै आयोजना गरिएको सो कार्यक्रममा भारत र नेपाल दुवैको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई उत्सवका रूपमा मनाइएको हो।
कार्यक्रममा भारत र नेपाल दुवै देशका चर्चित कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा ६ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेका थिए भने साँझमा नेपाली ब्यान्ड घुगुमुगुले परम्परागत सङ्गीतको प्रस्तुति दिएको थियो।
महोत्सवका क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी’ शीर्षकमा एक शैक्षिक गोष्ठी समेत आयोजना गरिएको थियो । सो गोष्ठीले भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूलाई एकै ठाउँमा ल्याएको विश्वास गरिएको छ । जसले दुई देशबिचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न र जनता–जनताबिचको सम्बन्धलाई प्रवर्द्धन गर्न सहयोग पुगेको जनाइएको छ ।

साथै सो कार्यक्रमले दुई राष्ट्रबिचको बलियो सांस्कृतिक र ऐतिहासिक बन्धनलाई बढवा दिएको भारतीय दूतावासले जनाएको छ । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर,भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डेले संयुक्त रूपमा उद्घाटन गरिएको सो कार्यक्रममा नागरिक समाजका सदस्यहरू, शिक्षाविद्हरू, वरिष्ठ भिक्षुहरूका साथै लुम्बिनी विकास कोषका सदस्यहरू सहितको उत्साहजनक सहभागिता रहेको थियो।



