काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ ।

मङ्गलवार भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटिएको हो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए । त्यस्तै, विराटनगरका मार्टिन गुप्टिल २, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए ।
बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुई–दुई विकेट लिए ।
त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक(एक विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । शेल्डन ज्याक्सनले २० रन र आरिफ शेखले २० रन जोडे । मुख्तर अहमद १० रन बनाएर आउट भए ।
बलिङमा विराटनगरका लागि मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ विकेट लिए । त्यस्तै, सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट लिए । सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रोपटक फाइनलमा पुगेको हो । सुदूरपश्चिम एनपीएल सिजन–१ मा उपविजेता बनेको थियो ।


