काठमाडौँ । कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र जारीपछि विभिन्न जिल्लाहरुले उम्मेद्वार सिफारिस गर्न थालेका छन् ।
त्यसैक्रममा महामन्त्री गगन थापाको नाम एउटामात्रै निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवारका लागि सिफारिस भएको छ । एउटामात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा थापासहितको ५ जनाको नाम सिफारिस भएको हो ।
पार्टीको रोल्पा जिल्ला कार्यसमितिले महामन्त्री थापा, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, व्यवसायी डा. मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरेको हो ।
यस्तै विश्वप्रकाश शर्माको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि एकल सिफारिस भएको छ । उनी यसै क्षेत्रबाट २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।


