काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सहि ढंगले अघि बढाउन नेतृत्वमा दावी गरेको बताएका छन् ।
सोमबार भृकुटिमण्डपस्थीत महाधिवशेन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धती अनुरुप ठीक ढंगले चलाउनका लागि नेतृत्वमा दावी गरेको बताएका हुन् । अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उनले बताए । उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने जिकिर गरे । त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफुहरुलाई सहयोग गर्ने बताए ।

त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चूनावी प्रतिष्पर्धा भएपनि कसैप्रति पूर्वाग्रह नहुने बताए । नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउनका लागि उम्मेदवारी दिएको उनले बताए ।
त्यस्तै उपमहासचिव पदका उम्मेद्वार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए ।
त्यसैगरी सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टीमको घोषणा गरेकाले आफुहरु पनि छुटै टीम घोषणा गरिएको धारणा राखे । उनले अब सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रीक विधि अनुसार नेतृत्व चयन हुने जिकिर गरे ।
नेकपा एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टीम बनाएर चूनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । एमाले नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।


