सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको पर्सा गाउँपालिका–१ मा प्रतिबन्धित गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराति पर्सा गाउँपालिका–१ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ किलो ८०० ग्राम गाँजा बरामद भएको छ । प्रहरीले प्रतिबन्धित गाँजासहित रामसिरिठलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ ।


