काठमाडाैँ । चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने नीति सार्वजनिक गर्दै सन् २०३० सम्म १५ गिगावाट क्षमता पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय ऊर्जा प्रशासनले जारी गरेको मार्गनिर्देशनमा परियोजना निर्माण तथा आवेदन क्षेत्र विस्तारमा जोड दिइएको छ, जसबाट नवीकरणीय ऊर्जा प्रविधि ठुलो परिमाणमा प्रयोगमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।
यस क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी नयाँ ऊर्जा उद्योगका रूपमा विकास गर्ने चीनको लक्ष्य रहेको छ । यस क्रममा प्रविधिहरू पूर्ण रूपमा स्वदेशमै नियन्त्रणमा रहने, बजारकेन्द्रित हुने र औद्योगिकीकरणतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।
चीनले प्रमुख नवीकरणीय ऊर्जा प्रविधिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । निर्माण लागत प्रति किलोवाट ३० हजार युआनबाट घटाएर १५ हजार युआनमा झारिएको छ भने विद्युत उत्पादन लागतमा पनि उल्लेखनीय कमी आएको छ ।
यद्यपि प्रारम्भिक उच्च लगानी र तुलनात्मक रूपमा कमजोर बजार प्रतिस्पर्धा अझै चुनौतीका रूपमा रहेको बताइएको छ । यसलाई समाधान गर्न ठूलो क्षमता भएका नवीकरणीय ऊर्जा प्लान्ट निर्माण तथा स्थानीय विद्युत अभाव पूर्तिमा ध्यान दिइने योजना बनाइएको छ ।
साथै, प्रान्तीय तहमा निष्पक्ष बजार पहुँच सुनिश्चित गर्न मूल्य निर्धारण प्रणाली अपनाउने, मुख्य प्रविधि, सामग्री तथा उपकरणमा अनुसन्धान र विकासलाई तीव्रता दिने निर्देशन दिइएको छ । अग्रणी कम्पनी र अनुसन्धान संस्थालाई संयुक्त अनुसन्धान तथा विकास मञ्च स्थापना गर्न सहयोग गरिने र स्वदेशी उत्पादनमा आत्मनिर्भरता बढाइने योजना समेत रहेको छ ।


