जुम्ला, १० पुस । नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ । नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ । जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिनुभयो ।
पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ । सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन । “बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन । मुआब्जा दिनसके समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । हिमा गाउँपालिका जोड्ने पुल पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ । कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहराका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
मुगुको लुम्स पुल निर्माण घर तथा जग्गाका कारण रोकिएको प्रमुख चौधरीले बताउनुभयो । स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको छ । विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाइ भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा पुल निर्माण गर्न रु ४० लाख विनियोजन गरिएको प्रमुख चौधरीले बताउनुभयो ।


