काठमाडौं, भारतीय नागरिक नवल किशोर चौधरीमाथि नेपालमा राजस्व छली, राज्यलाई ठगी गर्ने उद्देश्यले फर्महरू दुरुपयोग गरेको तथा अवैध आर्थिक कारोबारमा संलग्न रहेको गम्भीर आरोपहरू सार्वजनिक भएका छन्।
श्रोतका अनुसार नवल किशोर चौधरीले नेपालमा सञ्चालन गर्दै आएको एक पसलमा राजस्व अनुसन्धान विभागले छापा हानेपछि करिब २६ करोड रुपैयाँ बराबरको जरिवाना तोकिएको थियो। तर उक्त रकम विभिन्न माध्यमबाट ‘सेटिङ’ गरी हालसम्म नतिरेको देखिएको दाबी गरिएको छ।
उही श्रोतका अनुसार चौधरीले १८ वटा फर्महरू विभिन्न व्यक्तिको नाममा दर्ता गरी सञ्चालन गर्दै आएको आरोप छ। ती फर्महरूबाट व्यापार गर्ने, राजस्व तिर्ने समय आएपछि कम्पनी बन्द गर्ने, नाम परिवर्तन गर्ने वा नयाँ फर्म खोल्ने माध्यमबाट राज्यलाई ठगी गर्ने गरिएको बताइन्छ।
यसरी पटक–पटक फर्म खोल्ने र बन्द गर्ने प्रवृत्तिले राज्यको राजस्व प्रणालीमा गम्भीर क्षति पुर्याउने मात्र होइन, आर्थिक अपराधलाई पनि प्रोत्साहन दिएको सरोकारवालाहरूको भनाइ छ।
त्यसैगरी, एक श्रोतका अनुसार नवल किशोर चौधरी पछिल्लो समय नक्कली नोटको सुद्ध कारोबारमा समेत संलग्न रहेको आशंका गरिएको छ। यद्यपि यस विषयमा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने भइसकेको छैन।
यी सबै विषयहरू गम्भीर आर्थिक अपराधसँग सम्बन्धित आरोपहरू भएकाले राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय तथा अन्य सम्बन्धित निकायले निष्पक्ष र गहिरो छानबिन गर्नुपर्ने माग उठेको छ। राष्ट्रलाई नै ठगी गर्ने यस्ता गतिविधिमा संलग्न जो–कोही भए पनि कानुनी दायरामा छिटोभन्दा छिटो ल्याउनुपर्ने आवश्यकता देखिएको छ।
यस विषयमा नवल किशोर चौधरी पक्षको आधिकारिक प्रतिक्रिया हालसम्म प्राप्त हुन सकेको छैन। प्रतिक्रिया आएमा समाचारमा समावेश गरिनेछ।


