काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । पार्टीको ११ औं महाधिवेशनपछि पहिलोपटक बैठक बसेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पछिको वरीयतामा उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई राखिएको छ । नयाँ नेतृत्व आएपछिको सचिवालयको पहिलो बैठकमा अध्यक्ष ओलीपछिको वरीयतामा उपाध्यक्ष बादललाई राखिएको हो ।
बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर बादल बसेका छन् भने त्यसपछि उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त छन् ।
अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल बसेका छन् । जारी सचिवालय बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको टुंगो लगाउनेछ ।


