काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। लामो समयदेखि बिरामी परेकी उनको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।
सोमबार राति चिकित्सकले जियाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको बताएका थिए। उनलाई जीवनरक्षक प्रणालीमा राखिएको थियो, तर उनको उमेर र समग्रमा कमजोर स्वास्थ्यका कारण एकै समयमा धेरै उपचार गर्न सम्भव नभएको उनीहरूले बताएका थिए।

चार दशकभन्दा लामो समय राजनीतिमा सक्रिय खालिदा जिया सन् १९८१ मा पति एवं तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी थिइन्। उनले नै बीएनपीको कमाण्ड सम्हालेकी थिइन् ।
२० वर्षपछि भएको देशको पहिलो प्रजातान्त्रिक चुनावमा बीएनपीलाई विजय दिलाएपछि जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला सरकार प्रमुख बनेकी थिइन्।
त्यसपछि सन् २००१ देखि २००६ सम्म उनी पुनः सत्तामा रहिन्। शेख हसिना प्रधानमन्त्री रहँदा जिया जेलमा थिइन् भने उनका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा दोषी ठहर गरिएको थियो। उनी निर्वासनमा थिए। सन् २०२४ मा शेख हसिनाविरुद्ध भएको विद्यार्थी आन्दोलनपछि गठन भएको मोहम्मद युनुसको अन्तरिम सरकारले जिया र उनका छोरालाई सबै मुद्दाबाट सफाइ दिएको थियो। खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको लामो लण्डन बसाइपछि गत साता मात्रै ढाका फर्किएका थिए।


