काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा ३० लाख रुपैयाँ जमानत बसिदिएका मनोहर प्रधान पार्टीको समानुपातिक उम्मेदवार सूचीमा समेटिएका छन् । निर्वाचन आयोगमा बुझाइएको सूचीअनुसार प्रधान आदिवासी जनजाति पुरुषतर्फ चौथो स्थानमा छन् ।
तर, समानुपातिक उम्मेदवार छनोटका लागि गरिएको पार्टीको प्राइमरी इलेक्सनमा प्रधानको नतिजा कमजोर थियो । प्राइमरीमा उनी १७औं स्थानमा परेका थिए भने सो क्लस्टरमा सबैभन्दा बढी मत ल्याउने केही उम्मेदवार सूचीमै परेनन् । यसले रास्वपाको बन्दसूची प्रक्रियामाथि फेरि प्रश्न उठाएको छ ।
पेसाले चिकित्सक रहेका प्रधानले रवि लामिछानेलाई दिएको जमानत र सूचीमा पर्नुको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । उनका अनुसार आफू पार्टीको मापदण्ड पूरा गरेरै उम्मेदवार बनेको हो । यस घटनाले रास्वपाभित्र प्राइमरी इलेक्सनको औचित्य र अन्तिम सूची बनाउँदा अपनाइएको आधारबारे बहस थप चर्किएको छ ।


