काठमाडौँ, १७ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताउनुभएको छ ।
अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताउनुभयो ।
उहाँले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आज शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने, विपद्को समयमा खोजी तथा उद्धारमा सहजीकरण गर्ने, नेपाल बसाइँका क्रममा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्ने, अपराध भएमा अनुसन्धान प्रभावकारी बनाउने र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्याउने रहेको बताउनुभयो ।


