रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ । घटनामा अरु ९ जना विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी सवार ग.१ ज ६६६६ नम्बरको बोलेरो जिप शनिबार राति १० बजेतिर दुर्घटनामा परेको हो ।
सुनछहरी गाउँपालिका–१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सुनछहारी–४ स्युरीतर्फ जाँदै गरेको ग. १ ज ६६६६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर सुनिल थापा नेपालीले जानकारी दिए ।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल बिक रहेका छन् । दुर्घटनापछि प्रहरीले जिप चालक रोल्पाकै लुंग्री गाउँपालिका–७ का २५ वर्षीय मन्सुर घर्तीलाई पक्राउ गरेको छ ।


