काठमाडौं । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएको भौतिक संरचनाको पुनर्निर्माणका निम्ति सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । सोमबार (पुस २१) बिहानसम्म उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
सोमबार कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ । गएको हप्ता मेटलाइफ नेपालले २५ लाख र त्यसअघि दी ओरिएन्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए ।
कोषमा योगदानका निम्ति सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृनिकायलगायत सबैलाई आग्रह गरेको थियो ।
पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।
पुनर्निर्माण कोषका निम्ति राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् ।


