काठमाडौं । उज्यालो नेपाल पार्टीबाट इन्जिनियर किरण केसीले काठमाडौं क्षेत्र नं. ७ मा प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । मुलुकको विकास र समृद्धिका लागि युवाको नेतृत्व अपरिहार्य भएको भन्दै प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नैतिक नेतृत्व, पारदर्शी शासन, युवा सशक्तीकरण तथा प्रमाणमा आधारित नीति निर्माणमार्फत काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का जनताको सेवा गर्दै नेपालको लोकतान्त्रिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ उनी चुनाबी मैदानमा होमिएका छन् ।

व्यवसायी समेत रहेका केसी पेसाले मेकानिकल इन्जिनियर हुन् । अस्ट्रेलियामा एमबिएको पढाइ सकेर बिजनेस गर्दागर्दै स्थापित भएका केसीले देश बनाउने उद्देश्यले आफू नेपाल फर्किएको बताए । काठमाडौं क्षेत्र नं. ७ वासीको राम्रो साथ सर्पोट र हौसला पाएकाले आफूले जित्ने पूर्ण विश्वास रहेको समेत उनको दाबी छ । ३१ वर्षे केसीले चुनाव जितेको खण्डमा युवाहरुका लागि उदाहरणीय कार्य गर्नुका साथै विदेशमा रहेका नेपालीलाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहेको बताएका छन् ।
चीन, थाइल्याण्ड, भियतनाम, भारत तथा अष्ट्रेलियामा उद्यमशीलता, पर्यटन विकास, नवप्रवर्तन तथा सांस्कृतिक आदान–प्रदान सम्बन्धी कार्यक्रममा सहभागिता समेत जनाइसकेका केसीले २०७९ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा सहभागि समेत भएका थिए ।


