काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरोको गिरफ्तारीपछि त्यहाँको राष्ट्रपति भवन र आसपासका क्षेत्रमा भीषण गोलीबारीको आवाज सुनिएको बताइएको छ ।
समाचारअनुसार यो घटना स्थानीय समयअनुसार सोमबार राति भएको बताइएको छ । ड्रोन वा हवाईजहाजको आवाज पनि सुनिएको रिपोर्ट छ । त्यस्तै केही क्षेत्रमा बिजुली आपूर्ति बन्द छ ।
घटनास्थलको जानकारीअनुसार राष्ट्रपति भवनमाथि अज्ञात ड्रोन उडेको आशंकामा सुरक्षा बलहरूले गोलीबारी गरेका थिए । हाल अवस्था नियन्त्रणमा रहेको जनाइएको छ ।
यो अचानक गोलीबारी र हवाई गतिविधिपछि विश्वको ध्यान अमेरिकातर्फ केन्द्रित भएको छ । तर, ह्वाइट हाउसले तुरुन्तै एक वक्तव्य जारी गर्दै यस घटनामा अमेरिका संलग्न नभएको स्पष्ट पारेको छ ।
यो घटना जनवरी ३ मा अमेरिकी ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ अन्तर्गत राष्ट्रपति निकोलास मादुरोको गिरफ्तारी भएको केही दिनपछि भएको हो । मादुरो हाल न्युयोर्कको जेलमा छन् भने भेनेजुएलामा डेल्सी रोड्रिग्वेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएकी छन् ।
अमेरिकी हमलामा ८० जनाको मृत्यु
निकोलास मादुरोको गिरफ्तारीका लागि जनवरी ३ गरिएको अमेरिकी सैन्य अभियान र त्यसपछिको हिंसामा भेनेजुएलामा ठूलो जनधनको क्षति भएको पाइएको छ । पछिल्लो अन्तर्राष्ट्रिय रिपोर्टहरूअनुसार सम्पूर्ण घटनाक्रममा कम्तीमा ८० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकहरूमा मुख्य रूपमा राष्ट्रपति मादुरोको सुरक्षामा तैनाथ ‘प्रेसिडेन्सियल गार्ड’ का जवानहरू तथा अमेरिकी विशेष बलको कारबाहीविरुद्ध उत्रिएका भेनेजुएलाका सैनिकहरू रहेका छन् । यसका अतिरिक्त, काराकासमा भएको भीषण बमबारी र आवासीय क्षेत्र नजिक गोली चल्दा धेरै सर्वसाधारण नागरिक तथा केही बालबालिकाको पनि ज्यान गएको बताइएको छ ।


