काठमाडौँ : नेकपा बहुमतका कार्यकर्ताले डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि मोसो प्रहार गरेका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै अध्यक्ष ओझामाथि मोसो दलेका हुन् । घटनापछि कम्युनिस्ट युवा सङ्गठन नेपाल, डडेलधुराका अध्यक्ष सहवीरले हस्ताक्षर गरेको आरोप पत्र सार्वजनिक गरिएको छ । आरोप पत्रमा अध्यक्ष ओझाले अस्पताललाई ‘भ्रष्टाचार, राजनीतिक भर्ती र कुशासनको अखडा’ बनाएको दाबी गरिएको छ ।
आरोप पत्रमा कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रिया अघि बढाइएको उल्लेख छ। उदाहरणका रूपमा प्रयोगमा रहेको ठूलो एक्स-रे मेसिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ । त्यसै गरी जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्ति प्रयोग नगरी आर्थिक चलखेलका आधारमा कर्मचारी भर्ना गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप छ। अस्पताललाई मदिरा सेवन गर्ने थलो बनाइएको दाबी पनि आरोप पत्रमा गरिएको छ ।


