विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठनपछिको पहिलो बैठक बसेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ ।
प्रवक्ता पराजुलीका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्लाई राय, सुझाव र सल्लाह दिनका लागि तीन वटा विषयगत समितिहरू पुनर्गठन भएको छ, जसमा राजनीतिक तथा प्रशासनिक समिति संयोजकमा मन्त्री भीम पराजुली र सदस्यहरूमा इन्द्रमणि पराजुली, विदुर लिङ्थेप, रामप्रसाद मेहता रहेका छन् ।
यस्तै कानुन, न्याय तथा प्रदेश मामिला समितिको संयोजकमा इन्द्रमणि पराजुली, सदस्यहरूमा तिलचन पाठक, मानबहादुर लिम्बू र भीम पराजुली रहेका छन् । आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा प्रदीप सुनुवार, सदस्यहरूमा तिलचन पाठक, विदुर लिङ्थेप र इस्राइल मन्सुर रहेका छन् ।
यसैगरी बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन र एकीकृत गरी बनाइएको ‘कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०८२’ लाई स्वीकृत गर्ने निर्णय गरेको पराजुलीले बताए ।


