काठमाडौं । डेनमार्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ग्रिनल्यान्डको विषयमा कडा चेतावनी दिएको छ । डेनमार्कको रक्षा मन्त्रालयले कुनै शक्तिले ग्रील्यान्डमाथि आक्रमण गरेमा उसका सैनिकहरूले गोली चलाउने बताएको छ ।
कुनै अनुमति वा आदेशको प्रतिक्षा नगरी तुरुन्तै जवाफी कारबाही गरिने उसको चेतावनी छ । यो आदेश सन् १९५२ को शीतयुद्धकालीन नियमअन्तर्गत पर्छ, जसले कुनै पनि वैदेशिक आक्रमणविरुद्ध तत्काल प्रतिरोध गर्ने व्यवस्था गरेको छ ।
डेनिस रक्षा मन्त्रालयले सन् १९५२ को उक्त आदेश अहिले पनि लागु रहेको र यसको उद्देश्य सम्भावित आक्रमणको अवस्थामा तत्काल प्रतिक्रिया दिनु रहेको स्पष्ट पारेको छ ।
आर्कटिक क्षेत्रमा अवस्थित ग्रिनल्यान्ड रणनीतिक रूपमा महत्वपूर्ण स्वायत्त क्षेत्र हो, जुन डेनमार्कको शासनअन्तर्गत पर्छ ।
ट्रम्प प्रशासनले हालै यसलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण भएको बताएको छ । अमेरिकाले सैन्य शक्तिको प्रयोगसहित ग्रिनल्यान्डमाथि नियन्त्रण कायम गर्ने विकल्पहरूमा योजना बनाइरहेको विषय बाहिर आएपछि विवाद चर्किएको छ ।


