काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नागरिक सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।
आज ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।
गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रदेशका आन्तरिक मामिला मन्त्रीलगायतको उपस्थिति रहेको छ ।
अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने रहेको बताए । त्यसैको तयारीस्वरूप सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएकै मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे ।
त्यस्तै, जेनजी आन्दोलन सुशासन कायमका लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध भएको पनि उनको भनाइ थियो ।
तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारको मनोबल बढाइदिन आग्रह गरे ।
मुख्यमन्त्री बानियाँले अहिलेको निर्वाचनमा विगतका निर्वाचनको समयमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वासको वातावरण भने कायम रहेको बताए ।


