काठमाडौँ। पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत् बस्नेतले भनेका छन् कि उद्यमीको रूपमा नेपालमै बसेर भोगेका अनुभवहरूले आफूलाई राजनीतिक जिम्मेवारीतर्फ अग्रसर बनाएको हो। ‘यो निर्णय सजिलो थिएन,’ उनले भने, ‘तर व्यवसाय र उद्यम सहज नभएसम्म क्षमता भए पनि भविष्य अनिश्चित हुने यथार्थ मैले नजिकबाट देखेँ।’
राजनीतिमा प्रवेश गर्नुको उद्देश्य जिम्मेवारी लिनु रहेको स्पष्ट पार्दै बस्नेतले तीन मुख्य एजेन्डा सार्वजनिक गरेका छन्।
पहिलो, उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन र समर्थन गर्ने नीतिगत वातावरण निर्माण गर्ने। युवाहरूले नेपालमै आफ्नो सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण तयार गर्ने उनको प्रतिबद्धता छ।
दोस्रो, जवाफदेहिता र सुशासन सुनिश्चित गर्ने। ‘काम गर्नेले जवाफ दिनुपर्छ, निर्णय गर्नेले जिम्मेवारी लिनुपर्छ,’ भन्दै उनले यसलाई सुशासनको आधारका रूपमा व्याख्या गरे।
तेस्रो, अनुभवी र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने। संवाद, मार्गदर्शन र सहकार्यको संस्कृति विकास गरी समाजलाई एकजुट बनाउने लक्ष्य रहेको उनले बताए।
बस्नेतले यो यात्रा एक्लै सम्भव नभएको उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सहभागिताको आह्वान गरेका छन्। ‘काठमाडौं–१ बदलौँ, नेपाल बदलौँ,’ भन्दै उनले नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।


