काठमाडौँ, २८ पुस । सरकारले राष्ट्रियसभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनःनिर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रपरिषद्ले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर दुई लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले वित्तीय क्षेत्र रणनीति (२०८२÷८३–२०८६÷८७) र मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ । बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (भक्तपुर)लाई तोक्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।


