१६ श्रावण २०८३, शनिबार 1785594831
समाचार

डिभिजन वन कार्यालयद्वारा सालका काठ बरामद

कैलाली, २९ पुस । डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न स्थानबाट ५३१.४८ क्युफिट सालका चिरान काठ बरामद गरेको छ । वरिष्ठ डिभिजन वन अधिकृत रामविचारी ठाकुरका अनसार कार्यालय तथा मातहतका निकायबाट वन गस्ती गर्ने क्रममा एक महिनामा अवैध तवरले काटिएका ती सालका चिरान काठ बरामद गरेको हो ।

चुरे गाउँपालिका–५ मौरीगाउँबाट बेवारिसे अवस्थामा रहेको १४९.९८ क्युुफिट, सोही स्थानको सलानी क्षेत्रबाट ६८.६६ क्युफिट र गौरीगङ्गा नगरपालिका–६ ब्राहवन साझेदारीबाट २५.२८ क्युफिट सिसौको काठ बरामद गरिएको छ । त्यसैगरी, चुरेगाउँपालिका–२ खैरालाबाट फरकफरक मितिमा २८७.५७ सालका चिरान काठ बरामद गरेको छ । वनका कर्मचारीको सक्रियताले वन क्षेत्रबाट कटान गरिएको काठ बरामद भएको वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरले बताउनुभयो ।

चुरे क्षेत्रमा व्यापक रूपमा वन पैदावारको चोरी निकासी, वन्यजन्तुको सिकार, अतिक्रमणलगायत घटना हुने गरेको भनेर विभिन्न माध्यमबाट जानकारीमा आएको बताउँदै गोप्य सूचनाका आधारमा सबडिभिजनका कर्मचारी तथा आफैँ पनि विभिन्न संवेदनशील क्षेत्रमा गएर काठ नियन्त्रण गरिएको उहाँले बताउनुभयो । सामुदायिक वनका विभिन्न क्षेत्रबाट काठ कटान गरेर लुकाएको अवस्थामा उक्त अवैध काठ फेलापरेको बताइएको छ ।