काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेनेजुएलाकी विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले भेट गर्ने तय भएको छ । आगामी बिहीबारका भेट तय भएको ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई काराकासबाट नियन्त्रणमा लिएको केही हप्तापछि माचाडोको यो भ्रमण हुन लागेको हो ।
सन् २०२४ को विवादास्पद चुनावमा आफ्नो आन्दोलनले जित हासिल गरेको दाबी गरेकी माचाडोलाई ट्रम्पले नयाँ नेताका रूपमा समर्थन गर्न भने अस्वीकार गरेका छन् । अमेरिकाले उनको सट्टा भेनेजुएलाकी पूर्वउपराष्ट्रपति तथा हालकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई समर्थन गरेको छ ।
गत हप्ता माचाडोले मदुरोविरुद्धको कारबाहीका लागि ट्रम्पलाई व्यक्तिगत रूपमा धन्यवाद दिन चाहेको र आफ्नो नोबेल पुरस्कार उनलाई नै दिन इच्छुक रहेको बताएकी थिइन् । ट्रम्पले यसलाई ठूलो सम्मानका रूपमा लिएका थिए ।
तर, नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ । यसअघि ट्रम्पले माचाडोले नोबेल शान्ति पुरस्कार स्वीकार गरेकामा असन्तुष्टि व्यक्त गरेका थिए । उक्त सम्मान प्राप्त गर्ने इच्छा ट्रम्पले लामो समयदेखि राख्दै आएका छन् । मदुरो सत्ताच्युत भएपछि ट्रम्पले माचाडोबारे टिप्पणी गर्दै देशभित्र उनको पर्याप्त समर्थन वा सम्मान नभएको बताएका थिए ।
हालसम्म अमेरिकाले डेल्सी रोड्रिग्वेजलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा समर्थन गर्दै आएको छ । ट्रम्पले रोड्रिग्वेजलाई एक सहयोगीका रूपमा चित्रण गरेका छन् । साथै, उनीमाथि अमेरिकी अधिकारीहरूले कुनै पनि अपराधको आरोप नलगाएको जनाएका छन् । तर, माचाडोले भने आफ्नो गठबन्धन नै देशको शासनसत्तामा आउनुपर्ने अडान राख्दै आएकी छिन् ।


