काठमाडौं । नेपाली कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् ।
पार्टीको कारबाहीपछि जारी विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस नफुटेको विशेष महाधिवेशन गरिरहेको समूह नै सच्चा कांग्रेस भएको बताए ।
कांग्रेसको संस्थापन पक्षले बुधबार उनीसहित विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्लाह मन्सूरलाई पाँच वर्षका लागि पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

थापाले आगामी नियमित महाधिवेशनसम्मका लागि अन्तरिम नेतृत्व छानेर जाऊँ भन्दा पनि सहमति हुन नसकेको बताए । उनले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताए ।
त्यस्तै, थापाले देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको र अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए । उनले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गरे ।


